परिचय

नागरिक बडापत्र

परम्परागत जवाफदेहिताको रेखा पदसोपानयुक्त, औपचारिक र घुमाउरो भएकाले नागरिक उत्तरदायित्वलाई प्रत्यक्ष रूपमा निर्वाह गराउने प्रयासका विभिन्न स्वरूपमध्ये सेवा बडापत्र (नागरिक बडापत्र) पनि एक हो ।  ‘नागरिक वडापत्र’ भन्नाले सेवाका किसिम, सेवा प्राप्त गर्दा लाग्ने शुल्क तथा दस्तुर, सेवाप्रदान गर्ने जिम्मेवार व्यक्ति, सेवाको गुणस्तर, सेवा प्रदान गर्दा लाग्ने समयावधि, सेवाप्रवाहको शर्त र कार्यविधि, सेवा उपलव्ध हुन नसकेको अवस्थामा उपचारको विधि जस्ता कुरा खुलाई सेवाग्राहीको जानकारीका लागि सेवाप्रदायक निकायमा टाँगिएको सार्वजनिक सूचनालाई जनाउँछ । यस शब्दले कुनै खास सेवा विशेषका सन्दर्भमा लक्षित सेवाग्राहीलाई सेवा पु¥याउन सेवाप्रदायकले जारी गरेको प्रतिज्ञापत्र समेतलाई बुझाउँछ । जस्तैः स्वास्थ्य संस्थाको बडापत्र, हुलाक सेवाको बडापत्र, प्राथमिक शिक्षासम्बन्धी बडापत्र आदि । नागरिक बडापत्र अरु केही नभएर सर्वसाधारणका लागि साधन र स्रोत प्रयोग गर्ने निकायलाई नागरिकको चाहना र आशय अनुरूप चलाउने आग्रहपूर्ण संयन्त्र हो । यसमा सेवाग्राहीलाई छनोटको अवसर, सेवाको गुणस्तर, स्वतन्त्र मूल्याङ्कन, लगातारको सुधार, चार्टरमार्क जस्ता पाँच सिद्धान्त रहन्छन् ।

नागरिक बडापत्रको इतिहास

 

नागरिक बडापत्रको ईतिहासलाई हेर्दा हामीले धेरै शताब्दि अघिदेखि प्रयोग भएको पाउँछौ । सन् १२१५ को म्याग्नाकार्टा र पिपल्स चार्टर अफ १८३८ नै बढि प्रसिद्ध भएका बडापत्र हुन् । आधुनिक नागरिक बडापत्रको अवधारणा सुरुवात सन् १९९१ जुलाई २२ मा बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेजरले ल्याएका हुन् । त्यसबेला जोन मेजरले एउटा पत्रकार सम्मेलनमा ‘बडापत्र कार्यक्रमले मुद्राको परिवर्तन उत्तम सेवाको लागि उत्तम उपायको पहिचान’ गर्नेछ भनेका थिए । बडापत्रको आधारभूत अवधारणा सेवाप्रदायक र सेवाग्राहीबीचको एक प्रकारको करार सम्झौताबाट सुरु भएको थियो ।

नागरिक बडापत्रको प्रचलन बेलायतबाट सुरू भयो । तर, यो अवधारणा एकैचोटी प्रचलनमा आएको नभई क्रमिक रूपमा विकास हुँदै आएको नयाँ अवधारणा हो । यो राज्य भूमिकालाई छिरोल्ने र निर्वाह गरिने भूमिकालाई प्रभावकारी पार्ने निरन्तर खोजको परिणाम हो । सेवाप्रवाहलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ ? जनताका आवश्यकतालाई सरल, सहज र छिटो छरितो प्रभावकारी बनाई जनताप्रति उत्तरदायित्व र जवाफदेहिता बहन गर्न सकिन्छ ? यसै सन्दर्भलाई जोडी बेलायतमा मार्गरेट थ्याचर र अमेरिकामा रोनाल्ड रेगनका समयमा सुरू भएको नयाँ दक्षिणपन्थी आन्दोलन र अरु सार्वजनिक क्षेत्र सुधार कार्यक्रमले सार्वजनिक निकायलाई बढी जवाफदेही र उत्तरदायी बनाउन तिनीहरूलाई कार्यकारी एजेन्सीका रूपमा सञ्चालन गर्ने प्रथा सुरू गरियो । यसले सरकारी क्षेत्रका कतिपय काम सञ्चालन गर्ने स्वायत्तता दिएको थियो । तर, सबैै सरकारी सेवालाई कार्यकारी एजेन्सीका रूपमा सञ्चालन गर्न सम्भव थिएन । त्यस्ता सेवाको उत्तरदायित्व विस्तार गर्नु आवश्यक थियो । प्रत्यक्ष नागरिक उत्तरदायित्वको स्थापना गर्न जोन मेजरका समयमा बेलायतमा नागरिक बडापत्रको प्रचलन भयो ।

बेकर एण्ड ब्रेन्ट, १९९७ ले नागरिक वडापत्रलाई वेलायतको सन्दर्भ जोडी सार्वजनिक सेवाप्रवाहको प्रभावकारितामा नागरिक वडापत्रको अवधारणाको औचित्यतालाई निम्नानुुसार साराशंकृत गरेका छन् ।

  • सबै सार्वजनिक सेवा नागरिकले पाउन कुनै न कुनै मूल्य (कर र राजस्व) तिरेका हुन्छन्, चाहे प्रत्यक्ष होस या अप्रत्यक्ष ।
  • त्यसकारण नागरिकले आफूले औचित्यतापूर्ण मूल्यमा राम्रो सेवाप्रवाहको अपेक्षा गरेका हुन्छन् ।
  • जुन राज्य नियमन गर्ने, सामाजिक प्रशासनिक न्याय कायम गर्ने कार्यमा प्रतिबद्ध रहन्छन्, यी कार्य स्वच्छ, समान र न्यायपूर्ण रूपमा सम्पादन गरिनु पर्छ ।

 

Reference by: Arjun Bhandari

Co-Secretary